Sunday, 28 February 2016



- गेहनाथ गौतम/ अक्षराङ्कन पद्धतिको कार्यान्वयन गर्दा माध्यमिक शिक्षा उत्तीर्ण परीक्षा (एसएलसी) मा उत्तीर्ण/अनुत्तीर्णको व्यवस्था नरहने र सोको सट्टा विषयगत तथा समग्र ग्रेड दिइने व्यवस्था भएको छ । पाठ्यक्रमले निर्धारण गरेको कक्षागत सक्षमताका आधारमा विषयगत र समग्र ग्रेड प्रदान गरी ग्रेड सिटमा ग्रेडको व्याख्या समेत गरिने छ । करीव ८० वर्ष पुरानो एसएलसी परीक्षा पद्धतिमा आएको यो परिवर्तन पछि केही सार्वजनिक सरोकारका प्रश्नहरु उपर सैद्धान्तिक र व्यवहारिक स्पष्टता आवश्यक छ । जस्तो कि कुन ग्रेडलाई कस्तो शिक्षण संस्थामा भर्ना लिने ? भन्ने बारे तत्कालै उच्च माध्यमिक शिक्षा परिषद् वा सो सरहको शिक्षा प्रदान गर्ने निकायहरुले निर्णय गर्नु पर्ने छ ।
यस्तै लोक सेवा आयोग तथा अन्य सार्वजनिक सेवा प्रदायक निकायहरुले पनि यस सम्बन्धमा २०७२ सालको एसएलसी परीक्षाको नतिजा प्रकाशन पूर्व नै तयारी गर्नु पर्ने छ । तत्कालै एसएलसी पछि अध्ययन गर्ने अवसर निर्धारण गर्ने र सार्वजनिक सेवा प्रदायक निकायमा रोजगारीका लागि योग्यता निर्धारण विषयमा निश्कर्षमा पुग्नु आवश्यक छ । यसका लागि केही विषयहरुमा लेखकका निजी धारणा अभिव्यक्त गरिएको छ । 
हाल कायम स्तर र स्तरीकृत अङ्क सम्बन्धी विवरण :


हाल डी (Below average) र सोभन्दा तल्लो ग्रेड प्राप्त गरेका विद्यार्थीले कुनै दुई विषयमा माथिल्लो ग्रेड प्राप्तिका लागि पुनःमूल्याङ्कन गराउन चाहेमा सोही वर्ष हुने ग्रेड वृद्धि परीक्षामा सामेल हुन पाउने सो भन्दा कमजोरले  ग्रेड वृद्धि परीक्षामा सामेल हुन चाहेमा आगामी मूल परीक्षामा सहभागी हुन पाउने व्यवस्था गरिएको छ ।
१. एसएलसी पछि अध्ययन गर्ने अवसर निर्धारण गर्दा
- ४० प्रतिशत भन्दा कम उपलब्धि भएमा डी लाई नै (Below average) र इ लाई Insufficient  मानिएको छ । यस परिस्थितिमा एसएलसी पछिको अध्ययन गर्न पाउने सम्बन्धमा विद्यार्थीले प्राप्त गरेको ग्रेड, स्तरीकृत अङ्क  र विषयगत सक्षमताको अवस्थालाई आधार मानेर  निम्न विकल्पमा छलफल गर्न सकिन्छ :
क . मुख्य पाठ्यक्रम र अन्य पाठ्यक्रमको सोचबाट हेर्ने
- नेपालमा हाल ८ विषयको अध्ययन आवश्यक छ । सन् २०१३ मा LMTF (UNESCO)  ले विश्वव्यापि सिकाइका निम्न ७ क्षेत्रहरु निर्धारण गरेको छ ।
• Physical well-being
• Social and emotional
• Culture and the arts
• Literacy and communication 
• Learning approaches and cognition
• Numeracy and mathematics
• Science and technology
यस आधारमा हाल कायम रहेको एसएलसीको पाठ्य विषयहरु मध्ये केही  (राष्ट्रिय भाषा, अन्तर्राष्ट्रिय भाषा, गणित, विज्ञान वा सामाजिक विषयमा कम्तीमा तोकिएको ग्रेड (जस्तै सि वा यस्तै) हुनै पर्ने बनाउने ।
ख. अध्ययन गर्र्ने विषय र एसएलसीको विषगत सक्षमता हेर्ने
- विद्यार्थीले अध्ययन गर्न चाहेको विषयमा उसको दक्षता कम्तीमा (सि वा यस्तै ) हुनै पर्ने बनाउने ।
ग . समग्र ग्रेड वा GPA हेरी योग्य अयोग्य निर्धारण गर्ने
- अध्ययन गर्न चाहेको विषयगत दक्षताका साथमा समग्र ग्रेड वा GPA १.६ वा २.० हुनै पर्ने बनाउने ।
घ. अध्ययनको अवसर प्रदान गरी अतिरिक्त विषय अध्ययन गर्नै पर्ने दायरा तोक्ने ।
- तल्लो ग्रेड प्राप्त विद्यार्थीलाई उसको विषयगत दक्षता हेरी भर्ना गर्ने र निश्चित क्रेडिट आवर बराबरको अतिरिक्त विषय अध्ययन गर्नुपर्ने व्यवस्था गर्ने ।
 ५ अन्य विकल्प पहिचान गर्ने ।
२. सार्वजनिक सेवा प्रदायक निकायमा रोजगारीका लागि योग्यता निर्धारण
नेपाल सरकारलाई आवश्यक पर्ने विभिन्न तह र विशेषज्ञता भएका जनशक्ति छनोट गर्ने अधिकार सम्मानित लोक सेवा आयोगमा निहित छ । अन्य सार्वजनिक निकायहरुका लागि मूलतः लोक सेवा आयोगको मापदण्ड नै मार्गदर्शक बन्दछ । यस सम्बन्धमा २०७२ सालको एसएलसी परीक्षाको नतिजा प्रकाशन पूर्व नै तयारी गर्न आवश्यक देखिन्छ । विद्यालय शिक्षामा प्राथमिक तहको शिक्षक पदमा आवेदन दिन पनि कम्तीमा उच्च माध्यमिक तह उत्तीर्ण गरेको हुनै पर्ने कानुनी व्यवस्था भैसकेको छ ।
यस सम्बन्धमा निम्न विकल्पमा छलफल गर्न सकिन्छ :
क . मुख्य पाठ्यक्रम र अन्य पाठ्यक्रमको सोचबाट हेर्ने
- हाल ८ विषयमा अध्ययन गरिन्छ । विश्व व्यापि सिकाइका आधारभूत विभिन्न ७ क्षेत्रहरु निर्धारण गरेको  आधारमा हाल कायम एसएलसीको पाठ्य विषयहरु मध्ये केही  (राष्ट्रिय भाषा, अन्तर्राष्ट्रिय भाषा, गणित, विज्ञान र सामाजिक विषयमा कम्तीमा तोकिएको ग्रेड (जस्तै सि वा यस्तै ) हुनै पर्ने बनाउने ।
ख. सेवा गर्ने क्षेत्र र एसएलसीको विषगत सक्षमता हेर्ने
- सेवा माग गर्ने निकायले चाहेको विषयमा उसको दक्षता कम्तीमा (सि) हुनै पर्ने बनाउने ।
ग . समग्र ग्रेड वा GPA हेरी योग्य अयोग्य निर्धारण गर्ने
- सेवा माग गर्ने निकायले चाहेको विषयमा विषयगत दक्षताका साथमा समग्र ग्रेड वा GPA १.६ वा २.० हुनै पर्ने बनाउने ।
घ.  ग्रेड N बाहेक सबैका लागि आवेदन दिन अवसर प्रदान गर्ने ।
- तल्लो ग्रेड प्राप्त आवेदकबाट पनि उसको विषयगत दक्षता हेरी आवेदन स्वीकार गर्ने ।
५. अन्य विकल्प पहिचान गर्ने ।
त्यसैले यी विषयमा राष्ट्रिय आवश्यकता, संस्थागत अपेक्षा, विद्यार्थीको भविष्य, शैक्षिक गुणस्तर, उच्च शिक्षाको अवसर तथा  अन्तराष्ट्रिय अभ्यास र समकक्षता जस्ता पक्षमा विचार गरी सम्बन्धित निकायहरुले तत्कालै आवश्यक निर्णय गर्नु पर्ने देखिन्छ ।
स्वरोजगार सिर्जना गर्ने बाहेक सार्वजनिक वा निजी क्षेत्रमा रोजगारीका लागि व्यक्तिका विषयगत क्षमता र दक्षतालाई आधार मानी विवेकसम्मत निर्णय आवश्यक देखिन्छ ।

गौतम पाठ्यक्रम विकास केन्द्रका उपनिर्देशक हुन् ।

No comments:

Post a Comment